७ भदौ, धनगढी । कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
५० भन्दा बढी प्रहरी घाइते भएका छन् । छुरा, भाला, बन्चरोसहितका हतियार बोकेर आएका ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको थियो ।
आन्दोलनकारीले टीकापुर ६ संकरपुरस्थित पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । घटनामा उनको मृत्यु भएको र उनको शव टीकापुर अस्पतालमा ल्याएको पत्रकार कर्ण कुँवरले जानकारी दिए ।
घटनामा एसएसपी न्यौपानेका अंकरक्षकको मृत्यु भएको छ । उनको नाम खुलेको छैन । यस्तै आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्षमण खड्का एवं लोकेन्द्र चन्दसमेत छन् । त्यस्तै सशस्त्र प्रहरी हवल्दारद्वय ललित साउद र रामबिहारी चौधरीको शव पनि अस्पतालमा राखिएको छ ।
पत्रकार कुँवरका अनुसार आन्दोलनकारीतर्फ ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या सकिन हुन बाँकी छ । अहिले पनि टीकापुर बजारमा दोहोरो झडप भइरहेको छ । त्यहाँ दिउँसो २ बजेदेखि कर्फ्यू लगाइएको छ ।

0 comments:
Post a Comment